34.3 C
Birgunj
2:12 PM | Monday, May 13th, 2024

Headlines

सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा गठबन्धन नगर्ने दोहोर्‍याएका छन्।

‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्।  

‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,’ उनले भने।

गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले बरू गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए।

‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने।  

महामन्त्री थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो औँल्याए। पार्टीभित्र अभूतपूर्व एकताको सुनिश्चितता गरी सुस्ताएको समाजलाई सम्हाल्न जरूरी  रहेको बताए।त्यसका लागि  एउटा ठूलो तागत पनि चाहिएको उनले उल्लेख गरे ।

‘हाम्रो पार्टी भित्र र हाम्रो घर भित्र हामीले बनाएको फोहर आफैंले सफा गर्नुपर्छ अरु कसैले गर्दिने होइन,’ थापाले भने ‘ आजपनि धेरै समुदाय काँग्रेसभित्रै रहे पनि कता कता काँग्रेसले ठिक ढंगले सम्बोधन गरेन भनेर मन भित्रबाट खुसी हुन सकिरहेका छैनन्। उनीहरूलाई खुसी बनाउनुपर्ने छ।’

उनले पार्टीमा केही विभागहरू गठन गर्ने तयारी भइरहेकाले कुशलतापूर्वक निभाउनेगरी जिम्मेवारी लिन तयार रहन पनि आग्रह गरे।

उनले देशभरका सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लगाएको बताए। त्यसले जनता अलमलिएको र अलमलिएको जनतालाई सत्यतथ्य बुझेर बाहिर निस्कन आवश्यक रहेको पनि उनले बताए।  

महामन्त्री  यतिखेर मुलुकको सबैभन्दा ठूलो समस्या समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको र त्यो काम काँग्रेसले गर्नसक्ने र गर्नुपर्नेमा जोड दिए ।

‘एउटा मान्छे आउँछ र अहिलेको भन्दा छयालिस सालको अवस्था ठीक थियो भन्दिन्छ। एउटा नवजवानलाई हो कि के हो भन्ने लाग्छ। अर्को सहकारीको पैसा लुटेर आउँछ र यो पार्टीभित्र सबै चोरै चोर, ठग, फटाहा मात्रै छ भनिदिएको छ,’ उनले भने, ‘त्यही नेर अलमलिएका छन् मानिसहरू। उनीहरुलाई विश्वास दिलाएर बाहिर  निकाल्ने काम कांग्रेसको हो।’ 

सम्वन्धित समाचार

Leave a Comment