26.5 C
Birgunj
9:35 AM | Saturday, September 21st, 2024

Headlines

उपप्रधानमन्त्री खड्कासँग बेलायती राजदूत फेनको भेटवार्ता

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार उपप्रधानमन्त्री खड्कासँग राजदूत फेनले भेटवार्ता गरेका हुन् ।

उपप्रधानमन्त्री खड्का र राजदूत फेनबीच भएको भेटवार्तामा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

उपप्रधानमन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वागत गर्दै दुई देशबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका थिए । बेलायती राजदूत फेनको नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए । बेलायतले नेपालको आर्थिक सामाजिक विकासमा विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएको विषयमा पनि भेटका क्रममा चर्चा भएको थिय । उपप्रधानमन्त्री खड्काले दुई देशबीच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विस्वास राखेका थिए ।

त्यस्तै, उपप्रधानमन्त्री खड्काले सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सनलगायतका सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरेको प्रवक्ता पौडेलले बताए । जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदान लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

बेलायती राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको १०० वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताएका थिए । नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्‍याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्दै उनले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न बेलायत सरकार सदैव तत्पर रहेको बताएका थिए ।

सम्वन्धित समाचार

Leave a Comment