27.8 C
Birgunj
7:09 PM | Sunday, September 15th, 2024

Headlines

सिरहाको कल्याणपुरमा जनप्रतिनिधिबीच झडप, प्रहरीद्वारा २७ अश्रुग्यास र हवाई फायर

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ ।

नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको हो ।

दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर अझै स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।

झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।

झडपका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । दुबै पक्षलाई सम्झाई बुझाई गरेपछि अहिले स्थिति सामान्य बनेको उनको भनाई छ ।

नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै छ वटा वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् । धर्नाका कारण कार्यालय ठप्प थियो । कामकाज समेत प्रभावित छन् ।

वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५-२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक पटक झडप भएको स्थानीय एक यूवकले बताए ।

उनका अनुसार नगर प्रमुख साह एमालेबाट निर्वाचित भएका छन् । उनले भने, ’मेयरले आन्दोलनमा रहेका वडाध्यक्षहरुसंग वार्ता र छलफल गरी समाधान खोज्नु पर्थ्यो । तर बाहिरबाट एमाले कार्यकर्ता बोलाएर स्थिति बिगार्नुभो । मेयरका व्यक्तिले हुलहुज्जत गर्न खोज्दा आन्दोलनमा रहेका वडाध्यक्षहरु पनि आफ्ना मान्छे बोलाए । त्यस्पछि झडप सुरु भएको थियो ‌।’

कल्याणपुरमा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका छ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।

सम्वन्धित समाचार

Leave a Comment