14.6 C
Birgunj
12:08 AM | Monday, December 23rd, 2024

Headlines

मौलिक पहिचान रक्षा गर्नु हामी सबैको जिम्मेवारी : गृहमन्त्री श्रेष्ठ 

महाेत्तरी — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीको मौलिक पहिचानको रक्षा गर्नु अहिले आम नागरिकको मुख्य जिम्मेवारी भएको बताएका छन् । 

महोत्तरीको बर्दिबासमा सामाजिक सुरक्षासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देशको विविधता बीचको एकता सद्भभाव र सहिष्णुतामाथि केही समययता प्रहार भइरहेकाले जानी नजानी समाजलाई द्वन्द्वको दिशातर्फ धकेल्ने काम भइरहेको श्रेष्ठले बताए ।

बाह्य शक्तिहरुलाई संकेत गर्दै श्रेष्ठले हाम्रो समाजमा कहिल्यै नभएको जातीय र धार्मिक द्वन्द्व फैलाएर राष्ट्रिय एकता कमजोर पार्ने काम भएकाले सम्पूर्ण नेपाली एकताबद्ध भएर सबै काम छाडी हाम्रो मौलिक पहिचानको रक्षा गर्नुपर्ने उनले बताए । ‘अहिले जातीय तथा धार्मिक मुद्दाहरु उठिरहेका छन्,’ श्रेष्ठले भने, ‘यस्ता संवेदनशील मुद्दामा एक भएर हामीले राष्ट्रिय एकताको रक्षा गर्नु पर्दछ ।’

एकता र मेलमिलापको लागि राष्ट्रिय समझदारी कायम गर्न र विविधता बीचको एकता कायम गर्दै सद्भाव र सहिष्णुताको रक्षा गर्न ऐक्यबद्धता जनाउन उनले सबैलाई आग्रहसमेत गरे । संविधान, लोकतन्त्र र एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने श्रेष्ठले बताए ।

सबै राजनीतिक दलका प्रदेश प्रमुख, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुलगायत सम्बद्ध व्यक्तिहरुको उपस्थितिमा भएको अन्तरक्रियामा सहभागीले समेत जातीय र धार्मिकजस्ता संवेदनशील मुद्दाहरुबाट द्वन्द्व सिर्जना गर्ने काम भइरहेको बताएका थिए । खुल्ला सिमाना मधेस प्रदेशका लागि सुरक्षा चुनौती भएको भन्दै सिमामा विशेष व्यवस्था गर्न गृहलाई सहभागीले अनुरोधसमेत गरेका छन् ।

बुधबार बिहान बर्दिवासमै सम्पन्न प्रशासन र सुरक्षा अधिकारीहरूबीचको अन्तरक्रियात्मक बैठकमा मधेस प्रदेशको समसामयिक सुरक्षाबारे मधेस प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरुको रिपोर्टिङपछि मन्त्री श्रेष्ठले राष्ट्रिय एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने भन्दै धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महँगी रोक्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

सबै किसिमका विभेदको अन्त्य, जोखिम न्यूनिकरण, प्रकोप पीडितको प्रभावकारी उद्धार एवम् राहत, लागूऔषधको नियन्त्रणजस्ता प्राथमिकतामा अझै चुस्त र प्रभावकारी काम गर्न समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए । मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफूलाई प्राप्त भएकोले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने उनले बताए । साथै प्रहरीमा महिला सेल भएजस्तै दलित सेलसमेत स्थापना गर्न निर्देशन दिइसकिएको श्रेष्ठले बताए ।

सम्वन्धित समाचार

Leave a Comment