नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फागुन ३० गते विश्वासको मत दियो।
त्यसको पाँच दिनपछि नाउपाले सुदूरपश्चिममा भने नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारलाई समर्थनमा निरन्तरता दिने निर्णय गरेको छ।
नाउपाको सुदूरपश्चिम संसदीय दलको आइतबार बसेको बैठकले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थनमा निरन्तरता दिने निर्णय गरेको मन्त्री घनश्याम डगौरा थारूले सेतोपाटीलाई जानकारी दिए।
‘हामीले अहिलेकै सरकारलाई समर्थन कायम राख्ने निर्णय गर्यौं,’ नाउपा संसदीय दल नेतासमेत रहेका मन्त्री थारूले भने, ‘हाम्रो एक मतको निर्णय हो यो। यसमा कसैको विमति छैन।’
यद्यपि आइतबारको संसदीय दल बैठकमा दुई जना सांसद भने सहभागी थिएनन्। कैलाश चौधरी र टीका थापा अनुपस्थित रहेको बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीले बताए। ‘उहाँहरू नियमित उपचारको कारण अनुपस्थित हुनुभएको हो , उनले भने, ‘हाम्रो सर्वसम्मत निर्णय हो।’
कैलाशले पनि आफू नियमित उपचारको क्रममा काठमाडौं आएको बताए। उनले दललाई खबर गरेर काठमाडौं आएको र विधिपद्धतिअनुसार भएको निर्णय मान्ने जानकारी दिए। ‘विधि–पद्धतिमा टेकेर गरिएको रहेछ भने मान्छौं। अन्यथा मान्ने कुरा हुँदैन,’ उनले भने।
सुदूरपश्चिममा नाउपाका सात सांसद छन्। त्यसमध्ये दुई जना मात्रै मन्त्री बन्न बाँकी छन्।
अहिले पार्टी संसदीय दलका नेता चौधरी आर्थिक मामिला मन्त्री, रामेश्वर चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी, इन्दिरा गिरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री छिन्। खुसीराम डगौरा थारू र लक्ष्मणकिशोर चौधरीको मन्त्रालय तोकिन बाँकी रहेको छ।
सुदूरपश्चिम सरकारमा थप मन्त्री पठाउनेबारे अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच मतभेद देखिएको थियो।
गत फागुन २१ गते केन्द्रमा नेपाली कांग्रेससँगको गठबन्धन भत्किएपछि सुदूरपश्चिम सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्री बाहिरिएका थिए।
लगत्तै मुख्यमन्त्री शाहले नाउपाका चार जना मन्त्री थपेका थिए। तीन मन्त्री फागुन २५ गते थपिएका हुन् भने लक्ष्मणकिशोर श्रेष्ठले गत सोमबार मन्त्रीको शपथ लिएका थिए। उनी बिना विभागीय मन्त्री छन्।
केन्द्रमा भने नाउपाका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नाउपाका प्रतिनिधि सभामा चार जना सांसद छन्।
नाउपाले संघ र प्रदेशमा फरक-फरक गठबन्धनमा सहकार्य गरी फाइदा लिने रणनीति अपनाएको छ।
यसै अन्तर्गत प्रदेशमा नाउपाले कांग्रेससँग सहकार्यको हात बढाएको देखिन्छ। लुम्बिनीमा पनि सरकारमा जानेबारे नाउपा छलफलमै छ। पार्टीका संरक्षक रेशम चौधरीले त्यहाँका मुख्यमन्त्री रहेका नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीसँग छलफल गरेका थिए।
लुम्बिनीमा नाउपाका नरमाया ढकाल र राजकुमार चौधरी सांसद छन्।
नाउपाले समर्थन गरेपनि सुदूरपश्चिमको सरकार अल्पमतमै छ।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नाउपाका ७ गरी २५ जनाको मात्रै सरकारलाई समर्थन प्राप्त छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगिन स्वतन्त्र एक जना सांसद र राप्रपाका एक जना सांसदले समर्थन गरेमात्रै सरकार जोगिन्छ। ती दुई सांसदले भने समर्थन गरिसकेका छैनन्।