29 C
Birgunj
3:59 AM | Tuesday, May 14th, 2024

Headlines

नेपाली सुपारी भारत निकासी गर्न सरकारले सहजीकरण गर्छ : उद्योगमन्त्री

१७ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

नेपालमा उत्पादित सुपारी भारत निर्यातका सम्बन्धमा देखा परेको अप्ठ्यारोबारे मन्त्रालय जानकार रहेको र त्यसलाई हल गर्ने पनि मन्त्री रिजालले बताए ।

नेपालको सुपारी नेपाली बजारमा खपत पनि नभएको र निर्यात पनि हुन नसकेको भन्दै किसानहरुले समितिमा सहजीकरण माग गर्दै केही समय अघि निवेदन दिएका थिए । सोहीबारेमा छलफल गर्न आयोजित समिति बैठकमा मन्त्री रिजालले सरकारले सक्दो सहयोग गर्ने बचन दिएका हुन् ।

‘नेपालमा उत्पादित सुपारी उच्च गुणस्तरको छ, भारतमा निर्यात हुन पनि समस्या देखियो,’ मन्त्री रिजालले भने, ‘नेपालमा गुट्खा उद्योगले पनि किसानको सुपारी नकिनेको पाइयो । सरकार जसरी पनि सुपारीको बजार खोज्न किसानलाई सघाउँछ ।’

उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको मन्त्री रिजालको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समितिमा पेश गरेको विवरण अनुसार करिब १५ मेट्रिकटन सुपारी बजार नपाएर अहिले किसानहरुले घरमै थन्क्याएर राख्न बाध्य छन् । सो सुपारी सम्बन्धमा छलफल जारी रहेको समिति सभापति अब्दुल खानले अनलाइखबरलाई बताए ।

‘किसानको सुपारी बिक्री भएन भन्नेबारे छलफल सुरु भएको हो,’ सभापति खानले भने, ‘यसबारेमा अझै छलफल गरेर हामी निर्णय गछौं ।’

किसानले फलाएको उपजले बजार पाउने अवस्थाका लागि समितिले सहजीकरण गर्ने उनको भनाइ छ ।

नेपालमा उत्पादन भएको सुपारी नेपाल सुपारी खेती विकास संस्था झापाले नेपाली भएको उत्पत्तिको प्रमाणपत्र प्रदान गरेपछि निर्यात गर्न पाइन्छ ।

आफ्नो उत्पादन बजारमा आउने बेलामा कहीलेकहीँ भारतले नेपाली सुपारी आयातमा कठिनाइ सृजना गर्दै आएको छ ।

सम्वन्धित समाचार

Leave a Comment