वीरगञ्ज, १४ चैत
वीरगञ्ज महानगरपालिकाले मंगलबार २ कट्ठा १० धुर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको छ ।
महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिक रहेको अतिक्रमित २ कट्ठा १० धुर जग्गा आफ्नो अधिनमा ल्याएको हो ।
केही व्यक्तिले वर्षौंदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको हो ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोलीले अहिले अभियान नै चलाएको छ ।
मंगलबार अतिक्रमण हटाउन महानगर प्रमुख राजेशमान सिंह आफै पुग्नु भएको थियो ।
महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भयो ।
आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताउनु भयो ।
महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा जग्गा अतिक्रमण मुक्त गराएको थियो ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।