सिन्धुली — राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनमा १ वर्षभन्दा छोटो अवधिमा ९ किलोमिटर सुरुङको काम सकिएको छ । कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका ७ को कानढुंग्रीसम्म १३ दशमलव ३ किलोमिटरमध्ये आइतबारसम्ममा ९ किलोमिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । यो झण्डै ६८ प्रतिशत हुन आउँछ ।
गत वर्ष असोज २८ गतेबाट सुरुङ खन्ने काम सुरु भएको थियो । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसालेर मधेश प्रदेसका पाँच जिल्लामा सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आउोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ खन्नको लागि २२ महिनाको लक्ष्य लिइएकोमा यहीं रफ्तारमा अघि बढे ४ महिना अगावै सम्पन्न हुनेछ ।
‘एकवर्षको अवधिमा प्राविधिक कारणले करिब ४० दिन सुरुङ खन्ने काम बन्द हुँदा समेत लक्ष्यभन्दा बढी काम भएको छ’ आयोजना प्रमुख बरालले भने, ‘यतिखेर सुरुङको काम सुनकोसी गाउँपालिका ७ को मझुवा गैरीगाउँ आसपास पुगेको छ ।’
चुरे क्षेत्र पार गरेर हाल सुरुङ महाभारत क्षेत्रमा प्रवेश गरेको छ । १ हजार ३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो सबैभन्दा बढी उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब कुनै समस्या नआउनेमा आयोजनाका प्राविधिकहरु ढुक्क छन् ।
आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने रहेको छ ।