वीरगञ्ज
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अलौंका स्थानीयले मुआब्जा माग गर्दै महानगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार स्थानीयले मुआब्जा चलन चल्ति अनुसार पाउनुपर्ने दाबी गर्दै महानगरप्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सुख्खा बन्दर्गाह विस्तारका लागि नेपाल सरकारले अधिग्रहण गरेको ६२ विगाह जग्गा २०७३ सालदेखि नै खरिद विक्रि हक हस्तान्तरण हुन नसक्ने गरि रोक्का गरेको र २०७६ मा मुआब्जाका लागि मूल्यांकन तय गरिएको भए पनि उचित मुल्यांकन नभएको भन्दै चलनचल्तिको मुल्यांकन गरेर तत्काल मुआब्जा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका हुन् ।
स्थानीयको ज्ञापन पत्र बुझ्दै महानगरप्रमुख सिंहले मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित निकायमा आफूले पनि दबाब दिने प्रतिबद्धता जनाउनु भयो ।
वर्षौंदेखि मुआब्जाबाट बन्चित हुँदा स्थानीयलाई ठूलो क्षति भएको भन्दै उहाँले तत्काल सम्बोधन गराउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउनु भयो ।
स्थानीयले संघर्ष समिति नै बनाएर मुआब्जा तत्काल पाउनुपर्ने माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् ।
उनीहरुले आजै पर्साका प्रमुख जिल्ला अधिकारी र सुख्खा बन्दरगाह कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।