नेपालअखबार, धरान। प्रतिष्ठानहरुका अस्पतालहरुमध्ये बिरामीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट सेवा दिएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने वार्षिक संयुक्त समीक्षामा प्रस्तुत प्रतिष्ठानहरुको अघिल्लो वर्षको कार्यप्रगति हेर्दा त्यस्तो देखिएको हो । प्रतिष्ठानहरुमध्ये सबैधन्दा बढी उपचारका लागि बिरामी पनि सोही प्रतिष्ठानमा आउने गरेको देखिन्छ । विपी प्रतिष्ठान अस्पताल धरानमा एक वर्षमा ४ लाख ८१ हजार ५ सय १५ बिरामीले ओपीडी सेवा लिएका छन् ।
त्यसैगरी, ६९ हजार ६ सय ८१ ले आकस्मिक सेवा र ४२ हजार ९ सय ४८ भर्ना भएर उपचार सेवा लिएका छन् । दोस्रोमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, तेस्रोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौथोमा पोखरा, पाँचौ राप्ती र छैटौंमा कर्णाली रहेका छन् । बिरामीको उपचारमा आउने मध्ये कम मृत्यु हुने प्रतिशतमा पनि विपी पहिलो नम्बरमा छ । अस्पतालमा आएकामध्ये १ दशमलव ३ प्रतिशतको मात्र मृत्यु भएको सो प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ ।
कम मृत्यु भएका अन्यमा राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ प्रतिशत, पोखरा र कर्णलीमा २ दशमलव ४ प्रतिशत र न्याम्समा २ दशमलव ७ प्रतिशत रहेको छ । शल्यक्रिया सबैभन्दा बढी हुने प्रतिष्ठान भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।
त्यसैगरी, संख्याको आधारमा सबैभन्दा बढी शैय्याको प्रयोग हुने पनि विपी प्रतिष्ठान रहेको छ । तर, प्रतिशतमा भने राप्तीले जितेको छ । राप्ती जम्मा तीन सय शैय्या हो भने विपीमा ७ सय शैय्या संचालनमा छन् ।
सबैभन्दा कम शैय्या प्रयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । बिरामी उपचारका लागि अस्पताल बसाइँको अवस्थामा भने वीरमा बढी दिन देखिन्छ । त्यहाँ एक बिरामी औसतमा ६ दशमलव ९ दिन बसेर उपचार गरेको पाइन्छ ।
दोस्रोमा पाटनमा ६ दिन, विपीमा ५ दशमलव ३ दिन, कर्णलीमा ५ दशमलव १ दिन, राप्तीमा ५ दिन र पोखरामा ३ दशमलव ९ दिन रहने गरेको देखिन्छ । शैक्षिक कार्यक्रमको आधारमा पनि विपी प्रतिष्ठान अगाडि रहेको देखिन्छ । त्यहाँ ९ वटा शैक्षिक कार्यक्रम संचालन भइरहेका छन् ।