नेपालअखबार, टीकापुर। टीकापुर अस्पतालले फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ।
कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सबैलाई चुनौती बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो।
अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ। अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहोर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ।
अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका) ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको थियो।
स्वास्थ्य संगठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
‘प्लाष्टिकजन्य फोहोर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ’, उनले भने, ‘हामीले स्थानीय पालिकामा संकलन भएको फोहोर प्रशोधनमा पनि सघाउन सक्छौं। हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौं। पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौं।’
अस्पतालमा फोहोर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन्।
प्लाष्टिकजन्य र रगतजन्य फोहोर राख्नका लागि हरेक वार्डमा रातो, नीलो, हरियो रङका बाल्टिन राखिएका छन्। साथै सिसाजन्य फोहोर राख्नका लागि साना बाल्टिन राखिएका छन्।
फोहोर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन्। यसरी अस्पतालमा संकलन भएको फोहोर दैनिक अस्पताल परिसरमै रहेको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ।
‘निर्मलीकरण भएको फोहोर बिक्रीका लागि राखिन्छ। बिक्रीका लागि खासै समस्या छैन’, अध्यक्ष सोडारी भन्छन्, ‘यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनःप्रयोगका लागि बिक्री गर्न थालेका छौं।’
अस्पतालजन्य फोहोर अन्यत्र विसर्जन गर्न पनि मिल्दैन। विगतमा अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या थियो। अटोक्लेभ मेसिनको प्रयोगले प्रदूषणको समस्यासमेत समाधान भएको सोडारी बताउँछन्।
‘पोखरा अस्पतालको फोहोर व्यवस्थापन गर्ने शैलीबाट सिकेका हौं। दुई जनालाई तालिम दिएर प्रशोधनको काम सुरू गरेका हौं। प्रशोधनमा लागेको लागत उठोस् भन्ने चाहना हो’, उनी भन्छन्, ‘अस्पतालका दुई कर्मचारीले दैनिक छ घण्टा जति काम गर्नुहुन्छ। डेढ सय लिटर क्षमताका दुई वटा मेसिन छन्।’
अस्पतालमा दुई वटा मेसिन भए पनि अस्पतालको फोहोरमात्रै थोरै हुने हुँदा हाल एउटामात्र निर्मलीकरण मेसिन प्रयोगमा ल्याइएको सफाइकर्मी काशीराम रेग्मी बताउँछन्।
‘थप फोहोर पनि प्रशोधन गर्न सकिन्छ, एकैसाथ दुइटै मेसिन सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘हाल फोहोर कम भएकाले एउटै मेसिन चलाउने गरेका छौं।’
फोहोर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिताका लागि अस्पतालले स्थानीय पालिकासँग छलफल गरिरहेकाले पालिकाले पनि सहकार्य गरेमा फोहोर व्यवस्थापनमा सहजता हुने स्थानीय बताउँछन्।
अस्पतालले निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लाष्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डलले जानकारी दिए।
यसैबीच अस्पतालमा एनेस्थेसिया चिकित्सक सेवा सञ्चालन भएको छ।
गत साउनदेखि सहायक कर्मचारीका भरमा सेवा दिइँदै आएको अस्पतालले जटिल खालको शल्यक्रियाका लागि भने बाहिरबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता थियो।
गत असारसम्म भने जानकी गाउँपालिकाको आर्थिक सहयोगमा एनेस्थेसिया चिकित्सकको सेवा थियो। आइसियू र जटिल खालका शल्यक्रियाका लागि मानिसलाई बेहोस बनाउन एनेस्थेसिया आवश्यक हुन्छ।
व्यवस्थापन समितिका अध्यक्ष सोडारीले प्रदेश सरकारको सहयोगमा नवौं तहका एनेस्थेसिया डा पूर्णराधा श्रेष्ठ टीकापुर अस्पतालमा आएको जानकारी दिए। एनेस्थेसिया चिकित्सक नियमित भएमा अस्पतालमा शल्यक्रिया सेवा नियमित र सहज हुने अस्पतालले जनाएको छ।