नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपालले बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचित सदस्यलाई पार्टीद्वारा सोमबार आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले बामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउँदै गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको बताउँदै उहाँले गठबन्धन भित्रका केही नेताको अहमताका कारण आउन सक्ने राजनीतिक परिस्थितिप्रति संवेदनशील बन्नुपर्ने र त्यसको सामना गर्न आफ्नो पार्टी तत्पर रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले देश, जनता र समाजको रूपान्तरण गर्ने सङ्कल्प सहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उहाँले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारवाही गरिने प्रष्ट पार्नुभयो । अध्यक्ष नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र भएको भन्दै गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गर्नुभयो ।
अध्यक्ष नेपालले , ‘भएकाको विश्वास गुमाउने अनि हुँदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दनौं ।’
अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने समेत बताउनु भयो । ‘गठबन्धन हामी कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं’ अध्यक्ष नेपालले भन्नुभयो , ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ भने, उनीहरूलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौं ।’
नेता नेपालले बजारमा चलेका हल्लाको पछाडि नलाग्न पनि सांसद र पार्टीका नेताहरुलाई आग्रह गर्दै ‘बजारमा फैलिएका हल्लाको पछाडि जाने कुरा पनि आउँदैन, यस अर्थमा सबै कुरामाथि हाम्रो नजर पुग्नुपर्छ, गहिरो विश्लेषण गर्नुपर्छ । भित्रभित्र चलिरहेका अनेक खेलहरु थाहा पाउन सक्नुुपर्छ । सबै कुराप्रति सजग हुनुपर्छ, तर हल्लाका पछि पनि जान भएन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो कुराकानी भएको र दुबै नेता गठबन्धन कायम राख्न तयार रहेको भन्दै नेता नेपालले संसदीय दलको नेता चयन भएपछि मात्र छलफल अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनअधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
महासचिव डा. बेदुराम भुसालले जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिँदै देशभर सङ्गठन सुदृढिकरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।