नेपालअखबार, काठमाडौँ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाएका छन् ।
मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमण सुरु गरेका छन् ।
शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले संबन्धित विभाग, ठेकेदार कम्पनिसँग छलफल गरेका छन् ।
‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’
मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।
‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे ।
‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’
‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’
मन्त्रीको जवाफ थियो ।
त्यसलगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरिक्षणमा हानिए ।
त्यहाँ पनि सोचे अनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असंतुष्ट बने । संबन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।