नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को तेस्रो पोलिटब्युरो बैठक जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताउनु भयो । वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको साथै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गर्नुभयो ।
बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका छन् । वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै खतिवडाले यस सम्बन्धमा छलफल नभएको भन्दै बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको बताउनु भयो ।
पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनु भयो । बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने बताईएको छ ।