नेपालअखबार। भारतका दोस्रो धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशाले नोभेम्बर १९ मा अमेरिकाको लस एन्जलसमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । एक महिनापछि उनी शनिबार मुम्बई फर्किएकी छिन् । उनको निवास करुणा सिन्धुमा आइतबार विशेष कार्यक्रम तथा पूजाआजा हुने भएको छ, जसको तयारी पूरा भएको छ ।
देशभरका मन्दिरबाट पण्डित आउने
मिडिया रिपोर्टका अनुसार ईशा र उनका दुई बच्चालाई घरमा स्वागत गर्न देशभरका प्रसिद्ध मन्दिरहरूबाट थुप्रै पण्डितहरू आउनेछन् । अम्बानी परिवारले ईशाको घरमा ठूलो कार्यक्रम आयोजना गरेको छ ।
पूजाका लागि तिरुपति बालाजी मन्दिर, नाथद्वाराको श्रीनाथजी मन्दिर, श्री द्वारकाधीश मन्दिरलगायत धेरै मन्दिरबाट प्रसाद मगाइएको छ । यस अवसरमा अम्बानी परिवारले ३०० किलो सुन दान गर्नेछन् । प्रसादीका लागि विभिन्न देशबाट केटरहरु बोलाइएको छ ।
मुम्बईका डाक्टरको समूह अमेरिकाबाट ईशासँग आए
मिडिया रिपोर्टका अनुसार मुम्बईका प्रख्यात डाक्टरहरूको एउटा समूह लस एन्जलस गएको र त्यहाँबाट इशा र दुई बच्चालाई लिएर फर्केको कुरा पनि बाहिर आएको छ । अमेरिकाका उत्कृष्ट बालरोग विशेषज्ञ डा. गिब्सन पनि यस उडानमा ईशासँगै थिए ताकि बच्चाहरू सुरक्षित रूपमा मुम्बई पुग्न सकून् । ईशा र उनका बच्चालाई अमेरिकाबाट मुम्बईसम्म कतार फ्लाइटबाट ल्याइयो जुन मुकेश अम्बानीका साथी कतारका धनाढ्यले पठाएका थिए ।
प्रख्यात डिजाइनरहरूले बच्चाहरूको नर्सरी र लुगाहरू बनाए
करुणा सिन्धु र एन्टिलामा बच्चाहरुका लागि नर्सरीलाई पर्किन्स एण्ड विलले डिजाइन गरेका हुन् । यसमा घुम्ने बेड र अटोमेटिक छत छन् ताकि बच्चाहरुलाई सूर्यको किरणमा बसाउन, सुताउन सकियोस् । नर्सरीको सबै फर्निचर लोरो पियाना, हर्मिज र डियोरले विशेष रुपमा तयार गरेका छन् ।
दुबै बच्चाको कपडा डोल्चे एन्ड गबाना, गुची र लोरो पियानाले बनाएका हुन् । यतिमात्रै होइन, बच्चाका लागि बीएमडब्ल्यूले विशेष कार सिट डिजाइन गरेको छ । दुबै बच्चाको हेरविचारका लागि अमेरिकाबाट विशेष तालिम प्राप्त ८ न्यानी र विशेष नर्सहरुलाई ल्याइएको छ । उनीहरु बच्चासँग यही बस्नेछन् ।