नेपालअखबार, काठमाडाैं । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवर्द्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए ।
अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको, चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उनले लगाए ।
निकासी नियन्त्रण निष्पक्ष, तर्कसङ्गत र भेदभावरहित ढङ्गले हुनुपर्ने, विकास प्रवर्द्धन गर्न वैज्ञानिक एवम् प्राविधिक उपलब्धिहरूको युक्तिसङ्गत प्रयोग हुनुपर्नेमा जोड दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले प्रविधि आदानप्रदान, व्यापारमा सहयोग तथा विश्वव्यापी आपूर्ति शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए ।